
एजेन्सी । दीपावलीको रात भारतको मध्यप्रदेशमा छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । कटनी र सिवनी जिल्लामा भएका दुई घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरही कस्बामा आइतबार राति करिब ११:३० बजे आगलागी भएको थियो । पूरन अग्रवाल र रितेश अग्रवालको भाँडाकुँडा पसलमा अचानक लागेको आगो माथिल्लो तलामा रहेको उनीहरूको तीनतले घरमा फैलिएको थियो ।
आगलागी हुँदा परिवारका सदस्य घरभित्र सुतिरहेका थिए । आगो र धुवाँ तीव्र गतिमा फैलिएकाले उनीहरूले बाहिर निस्कने अवसर पाएनन् । घटनामा परिवारका ६ सदस्यको जलेर मृत्यु भएको छ । मृतकमा दुई वृद्धवृद्धा, एक महिला र तीन बालबालिका छन् । एक पुरुष र एक महिला भने घरबाट बाहिर निस्केर ज्यान जोगाउन सफल भएका थिए ।
आगलागीको खबर पाएपछि स्थानीय बासिन्दाले उद्धार प्रयास थालेका थिए । त्यसपछि बरही, विजयराघवगढ, कैमोर र कटनी नगर निगमका दमकल टोली घटनास्थल पुगेका थिए ।
यसैगरी, सिवनी जिल्लाको छपारा नगरस्थित महावीर वार्डको जैन मोहल्लामा सोमबार बिहान करिब ३ बजे अर्को आगलागी भएको थियो । सुनचाँदी व्यवसायी कुन्दन सोनीको घरमा सबैजना सुतिरहेका बेला अचानक लागेको आगो तीव्र गतिमा फैलिएको थियो । घरभित्र रहेका मानिसहरूले बाहिर निस्कने अवसर पाएनन् ।
घटनामा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । लखनादौनका एसडीओपी अपूर्व भलावीका अनुसार आगलागी हुँदा घरमा १० जना थिए । तीमध्ये ६ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
आगलागीको सूचना पाएपछि प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए । स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी घरभित्र फसेका मानिसहरूलाई बाहिर निकालिएको थियो । दुवै घटनामा आगलागीको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

























