फाइल फाेटाेझापा । झापाका विभिन्न क्षेत्रमा जंगली हात्तीको चहलपहल बढेसँगै मानव बस्तीमा त्रास फैलिएको छ । बुद्धशान्तिमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् भने मेचीनगरमा १४ वटा हात्तीको बथान मानव बस्तीनजिकै आएर बसेपछि स्थानीय जोखिममा परेका छन् ।
बुद्धशान्ति गाउँपालिका–२ साम्पाङटोलमा शुक्रबार बिहान करिब ५ बजेतिर जंगली हात्तीले आक्रमण गर्दा ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको छ । बुधबारे प्रहरीले उनको उपचार भइरहेको जनाएको छ ।
यता मेचीनगर नगरपालिका–७ स्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा १४ वटा हात्तीको बथानले डेरा जमाएपछि सीमावर्ती बस्तीका बासिन्दा त्रसित बनेका छन् । बिहीबार बिहानदेखि साना बच्चासहितको बथान दशगजा क्षेत्रको झाडीमा बसेको छ । झाडीको एकातर्फ भारतीय भू–भागमा सिसौ र टिकका बिरुवा छन् भने अर्कोतर्फ नेपालका सतिघट्टा, मेचीबस्ती र गैरीगाउँजस्ता बाक्ला बस्ती छन् ।
हात्ती जुनसुकै बेला बस्तीमा पस्न सक्ने जोखिम रहेकाले स्थानीयवासी रातभर सतर्क रहनुपर्ने अवस्थामा पुगेका छन् । स्थानीय प्रत्यक्षदर्शी जीआर धितालका अनुसार हात्तीको बथान बिहानदेखि नै झाडीमा देखिएको छ । ‘ती हात्ती दिनभर त्यहीँ बसेका छन् । कुनै पनि बेला गाउँ पस्न सक्ने डर छ,’ उनले भने ।
हात्तीलाई नेपाली बस्तीमा प्रवेश गर्न नदिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कर्मचारी परिचालन गरिएको छ । डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले हात्तीको गतिविधिमाथि निगरानी बढाइएको बताए । रातिको समयमा बस्तीमा प्रवेश गर्ने सम्भावना बढी हुने भएकाले स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनको भनाइ छ ।
हात्तीको त्रास सीमापारिसमेत फैलिएको छ । भारतीय सीमावर्ती क्षेत्रका १८ परिवार घर छाड्न बाध्य भएका छन् । ज्यान जोगाउन घरबाट निस्किएका केही परिवार नेपालतर्फका घरमा आश्रय लिन पुगेका छन् भने केही घुमाउरो बाटो हुँदै भारततर्फ लागेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार बुधबारदेखि नै हात्तीको बथानलाई नेपाल प्रवेश गर्न नदिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । मेचीनगर–४ को प्रसाद गौडा क्षेत्रबाट नेपाल छिर्न खोजेको बथानलाई रोकिएपछि हात्तीले बाटो बदलेका थिए । बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्न नपाएपछि करिब पाँच किलोमिटर दक्षिण सरेको बथान मेची पुलमुनिको क्षेत्र हुँदै मेचीनगर–७ को दशगजामा पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भारतबाट आउने हात्तीले नेपाली बस्तीमा पसेर घर भत्काउने र पाकेको धानबाली नष्ट गर्ने गरेका छन् । यही जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए ।
हात्तीको आवागमन नियन्त्रण तथा बस्तीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनरक्षक, र्यापिड रेस्पोन्स टिम, विभिन्न संघसंस्था र स्थानीय किसानसमेत परिचालित छन् । झापामा एकै समयमा हात्तीको बथानबाट बस्तीमा सम्भावित क्षतिको जोखिम र आक्रमणले मानव–हात्ती द्वन्द्वको चुनौती थप गम्भीर बनेको छ ।

























