
तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक खण्ड कालोपत्रे हुन सकेको छैन । पटक–पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता दोहोरिए । तर सडकको अवस्था भने उस्तै छ । वर्षायाममा हिलाम्मे हुने र ठाउँठाउँमा खाल्डाखुल्डी पर्ने सडकका कारण स्थानीयवासी तथा यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो सडक खण्डको निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्न पछिल्लो पटक सम्बन्धित निकायले स्थलगत अनुगमन गरेको छ । लोकमार्ग आयोजना कार्यालय, जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकार र निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडकको अवस्था तथा निर्माण प्रगति निरीक्षण गर्दै समयमै काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।
२०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता भएको यो सडक २०७४ सालभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर सम्झौता भएको ११ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन । पटक–पटक म्याद थपिए पनि निर्माणले गति लिन नसक्दा स्थानीयवासी सहज यातायात सुविधाबाट वञ्चित छन् ।
सडकको दयनीय अवस्थाले स्थानीयवासीसँगै यातायात व्यवसायीसमेत प्रभावित भएका छन् । हिलो र खाल्डाखुल्डीका कारण सवारीसाधन बिग्रिने, मर्मत खर्च बढ्ने र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । सडककै कारण दैनिक आवतजावतदेखि स्थानीय उत्पादनको ढुवानीसम्म प्रभावित हुँदै आएको छ ।
लामो समयसम्म निर्माणले गति लिन नसकेपछि पछिल्लो पटक जिम्मेवारी पाएको कन्टेक प्रालिले पनि अपेक्षित प्रगति गर्न सकेको छैन । यही महिनाको मसान्तमा ठेक्का सम्झौताको म्याद सकिँदैछ । त्यसैले आयोजना कार्यालयले ठेक्कालाई निरन्तरता दिने वा रद्द गर्ने भन्ने विषयमा स्थलगत अनुगमन गरेको हो ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सञ्जयकुमार मिश्रले अब पनि निर्माणमा उल्लेख्य प्रगति नभए ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने बताए । उनका अनुसार एक महिनाभित्र काममा सन्तोषजनक प्रगति नभए ठेक्का तोड्ने तयारी गरिएको छ ।
मध्यपहाडी लोकमार्ग तेह्रथुमको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको आयोजना भएकाले निर्माणमा भइरहेको ढिलाइ अब स्वीकार्य नहुने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताए । उनले सडक निर्माणलाई शीघ्र अगाडि बढाउन निर्माण कम्पनी, आयोजना कार्यालय र सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।
यता, गत वैशाखमा निर्माणको जिम्मेवारी पाएको कन्टेक प्रालिले भने हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ । कम्पनीका अनुसार नाली निर्माण, पर्खाल लगाउने र बेस बिछ्याउनेलगायतका काम सम्पन्न भएका छन् ।
आवश्यक स्रोतसाधनको अभावका कारण निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै कम्पनीका प्रतिनिधि हरिबाबु पन्तले आगामी फागुनसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । तर यसअघि पनि पटक–पटक म्याद थपेर काम सक्ने प्रतिबद्धता जनाइए पनि पूरा हुन नसकेकाले स्थानीयवासीमा यसपटकको प्रतिबद्धताप्रति पनि आशा र निराशा दुवै देखिएको छ ।
पहाडी क्षेत्रको आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा करिब १ सय १९ किलोमिटर लामो छ । त्यसमध्ये हालसम्म करिब ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्ड निर्माणकै क्रममा छन् ।

























