
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (पूर्वआईजीपी) पदबाट हटाउने सरकारी निर्णयविरुद्ध अदालत पुगेका दानबहादुर कार्कीको मुद्दामा तत्काल सुनुवाइ नहुने भएको छ ।
छठ पर्वको अवसरमा सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि कार्कीको रिटमाथिको प्रारम्भिक सुनुवाइ प्रभावित भएको हो । सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । सरकारी निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा बहाल गर्न माग गर्दै उनले रिट निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि सर्वोच्च अदालतले कात्तिक ३० गते पेसी तोकेको थियो । तर, छठ पर्वको समापनका दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयसँगै सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने भएपछि सुनुवाइ रोकिएको हो ।
छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्पराअनुसार सरकारले सार्वजनिक बिदा दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीका अनुसार सार्वजनिक बिदाका कारण उक्त दिनका लागि निर्धारित सबै मुद्दाको सुनुवाइ स्थगित हुनेछ । स्थगित मुद्दाहरू अदालत खुलेपछि पुनः पेसीमा चढाइने उनले बताए ।

























