
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विराटनगर महानगर कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी क्रिस्टिना बस्नेतलाई दिइएको छ ।
महानगर कमिटीका अध्यक्ष विवेक बस्नेत वैदेशिक यात्राका कारण देशबाहिर रहने भएपछि संगठनको सांगठनिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी क्रिस्टिनालाई दिइएको हो । अध्यक्ष विवेक बस्नेतले कात्तिक २६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि क्रिस्टिनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् ।
अध्यक्ष बस्नेतले संगठनको विधि, विधान र मर्यादाभित्र रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वाससहित उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्रमा उल्लेख गरेका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पत्रको बोधार्थ नेकपा (एमाले) मोरङ जिल्ला कमिटीका अध्यक्ष, जिल्ला कमिटीका विद्यार्थी फाँट इन्चार्ज, अनेरास्ववियु कोशी प्रदेश कमिटी संयोजक र अनेरास्ववियु मोरङ इन्चार्जलाई दिइएको छ ।


























