
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)का क्रममा मन्त्री खनालले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग भेट गर्दै दुई देशबीचको सहकार्य विस्तारका बारेमा छलफल गरेका हुन् । भेटमा जलवायु परिवर्तनले निम्त्याएका चुनौती, विपद् व्यवस्थापन, जलवायु उत्थानशीलता तथा नेपालमा हालै आएको बाढीपछि भइरहेको पुनःस्थापना प्रयासका विषयमा कुराकानी भएको खनालले जानकारी दिएका छन् ।
प्राकृतिक विपद्पछिको पुनःस्थापनामा बंगलादेशले पुर्याएको सहयोगको प्रशंसा गर्दै उनले धन्यवादसमेत व्यक्त गरेका छन् । नेपाल र बंगलादेशबीच ऐतिहासिक मित्रता, पारस्परिक सम्मान र आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै खनालले आगामी दिनमा द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा सहकार्यलाई अझ प्रभावकारी बनाउने धारणा राखेका छन् ।

























