फाइल तस्बिरकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (शनिबार) लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने खेल दुवै टोलीका लागि फरक लक्ष्यका दृष्टिले महत्त्वपूर्ण हुनेछ ।
लुम्बिनीको नजर अंक तालिकाको शीर्ष स्थानमा पुग्नेमा छ भने विराटनगरलाई प्लेअफ यात्रा थप सुरक्षित बनाउन जित्नैपर्ने दबाब छ । ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले ९ अंक बनाएको हो ।
यसअघि कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको लुम्बिनी काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । चितवन राइनोजसँगको खेल भने वर्षाका कारण हुन नसक्दा दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनी शनिबारको खेल जित्दै शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । त्यसैले उसका लागि यो खेल अंक तालिकामा आफ्नो पकड बलियो बनाउने अवसर पनि हो ।
यता विराटनगरका लागि भने शनिबारको नतिजाले प्लेअफ समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक जोडेको विराटनगर पाँचौं स्थानमा छ । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको विराटनगर काठमान्डु गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको थियो ।
लिग चरणका खेल सकिनुअघि प्लेअफको सम्भावना बलियो बनाउन विराटनगरलाई जित आवश्यक छ । पराजित भएमा उसको आगामी यात्रा थप चुनौतीपूर्ण बन्न सक्छ । विराटनगरका लागि गर या मरको अवस्था छ ।
एकातिर शीर्ष स्थानको होड, अर्कोतिर प्लेअफमा पुग्ने संघर्ष । यही समीकरणका कारण शनिबारको खेल प्रतिस्पर्धात्मक एवं रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

























