चीन भ्रमणमा जान लागेका रास्वपा सांसदहरूसँग प्रधानमन्त्री बालेनको छलफल

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १२:१९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् ।

बिहान ११ः१५ बजे सुरु भएको छलफलमा चीन भ्रमणको तयारी तथा भ्रमणका क्रममा हुने गतिविधिबारे कुराकानी भएको जनाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय टोली आगामी आइतबार (२९ कात्तिक) चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ११ दिनसम्म चल्ने भ्रमणका क्रममा टोलीले चीनको राजधानी बेइजिङ, हाङचोउ सहर र सिचुवान प्रान्तको भ्रमण गर्नेछ ।

चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा र डा. धनञ्जय रेग्मी रहेका छन् ।

त्यसैगरी प्रतिनिधिमण्डलमा श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.