
धरान । सुनसरीको धरानमा तास खेलिरहेको अवस्थामा प्रहरीले १७ वर्षीय किशोरसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट करिब ६ लाख रूपैयाँ बरामद भएको छ ।
धरान उपमहानगरपालिका–११ सेवालुङ चोकस्थित सन्जुहाङ लिम्बूको घरमा बिहीबार राति प्रहरीले छापा मार्दा तासको खालमा बसेका उनीहरू पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राति करिब ८ बजे घरमा प्रवेश गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा घरधनी लिम्बूसहित धरानका विभिन्न वडाका ९ जना र ताप्लेजुङका एक जना छन् । पक्राउ पर्नेमा लिम्बूसहित धरान–१६ का ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, २४ वर्षीय मचिन लिम्बू, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, ४१ वर्षीय सुवास तामाङ र १७ वर्षीय किशोर रहेका छन् । त्यस्तै धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा पनि पक्राउ परेका छन् ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जुवाको खालबाट नगद, तास र मोबाइल बरामद भएको जानकारी दिए । ५ लाख ९२ हजार ५०० रुपैयाँ नगद, १२ बुक तास र १२ थान मोबाइल बरामद भएको उनले बताए ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको खड्काले बताए ।

























