
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गर्दै सरकारविरुद्ध सशक्त राजनीतिक आन्दोलन अघि बढाउनुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई आउँदो नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए ।
सरकारका जनविरोधी कदमविरुद्ध आन्दोलन गर्नुपर्नेमा जोड दिँदै बस्नेतले त्यसका लागि आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्ने बताए । सरकारविरुद्धको सङ्घर्ष प्रभावकारी बनाउन पार्टीको साङ्गठनिक संरचना थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।
वर्तमान सरकार र सत्तारूढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारका अलोकतान्त्रिक क्रियाकलाप प्रविधिको अधिकतम प्रयोग गरी जनतामाझ उजागर गर्न नेता-कार्यकर्तालाई निर्देशन दिए ।
‘सहकारी ठगीलगायत आपराधिक गतिविधिमा मुछिएको यो सरकारको आयु धेरै लामो छैन, यसलाई आउँदो नयाँ वर्ष देख्न दिनु हुँदैन । अन्य दलसँग सहकार्य गर्दै आन्दोलन र साङ्गठनिक सुदृढीकरणको कार्यभार बोकेर एमाले अघि बढ्नेछ’, बस्नेतले भने ।
पार्टीका तल्लो तहका कमिटीलाई मजबुत बनाएर मात्रै आन्दोलन र चुनावी मोर्चा सफल हुने उनले बताए । आगामी स्थानीय तह तथा प्रदेश तहको निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न आह्वान गर्दै उनले ती निर्वाचनमा एमालेलाई पुनः पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।



















