सरकारविरुद्ध आन्दोलनमा उत्रिन ओलीको निर्देशन

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १६:०७

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रहरी, कर्मचारी र उद्यमी-व्यवसायीसमेत विभाजित अवस्थामा रहेको दाबी गरे ।

ललितपुरमा शनिबार आयोजित बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले ‘इनम सापकोटा’ नामका व्यक्तिको सरकार पक्षसँग सम्पर्क र सम्बन्ध देखिएको टिप्पणी गरे । उनले ती व्यक्तिलाई सरकारले नै परिचालन गरिरहेको आरोपसमेत लगाए ।

‘अहिले इनम सापकोटा भन्ने नचाइरहेका छन् । जताबाट हेर्‍यो, इनम सापकोटा उनीहरूकै देखिन्छ । उनीहरूकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ, उनीहरूकै देखिन्छ’, ओलीले भने । उनले यो प्रकरण दानबहादुर कर्कीसँग मात्रै सम्बन्धित हो वा अन्य विषयमा पनि जोडिन्छ भन्ने आफूलाई थाहा नभएको टिप्पणी गरे ।

ओलीले प्रहरी संगठनभित्रै दुई खालको अवस्था रहेको दाबी गर्दै एक पक्ष कारबाहीमा परेको र अर्को पक्ष हेरेर बसेको आरोप लगाए । कर्मचारी र उद्यमी–व्यवसायीको अवस्थाबारे पनि टिप्पणी गर्दै उनले सरकारको गतिविधिले उनीहरूमा असन्तुष्टि बढाएको बताए ।

वर्तमान सरकार अवैधानिक क्रियाकलाप, आगजनी र तोडफोडबाट बनेको आरोप लगाउँदै ओलीले यसबाट कसैको भलो नहुने दाबी गरे । उनले एमाले कमजोर भएको टिप्पणी गर्नेहरूलाई आन्दोलन र निर्वाचनबाट जवाफ दिनुपर्ने बताए । ‘एमाले सकियो होइन, देशको सबैभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली, कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने फेरि हामीले देखाउनुपर्छ’, उनले भने ।

अध्यक्ष ओलीले पार्टीभित्रै बसेर पार्टीविरुद्ध गतिविधि गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी पनि दिए । पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको पक्षमा उभिनुपर्ने भन्दै उनले पार्टीको सदस्य भएर भोट अन्तै हाल्ने प्रवृत्तिलाई बेइमानीको संज्ञा दिए । ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ । पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन । भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो’, ओलीले भने ।

पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध जालझेल र षड्यन्त्र गर्ने गरेको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिए । जिल्लास्तरमै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य भेटिए कारबाही गरी सिफारिस पठाउन उनले निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.