
ललितपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन् ।
देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाउने कांग्रेसप्रति जीवनभर ऋणी रहने बताए ।
‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन । जुन पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ’, देउवाले भने ।
कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएकाले जनताका प्रतिनिधिबाहेक कसैले पनि पार्टीलाई आफ्नो नियन्त्रणमा लिन नसक्ने उनको भनाइ थियो । ‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो । जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन’, उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतप्रति आफ्नो विश्वास रहेको बताए । आफूविरुद्ध १८ करोड रुपैयाँसम्बन्धी विषय उठाइएको उल्लेख गर्दै उनले अदालतबाट निष्पक्ष न्याय पाउनेमा विश्वस्त रहेको बताए । ‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ । अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु’, उनले भने ।
देउवाले २०८२ भदौ २३ र २४ गतेका घटनालाई षड्यन्त्रको संज्ञा दिँदै त्यसक्रममा लोकतन्त्रका लागि संघर्ष गरेका नेताका सन्तानका घर र आश्रमसमेत छानीछानी जलाइएको दाबी गरे । कांग्रेसका संस्थापक नेताका सन्तानहरू आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले सुवर्णशमशेरका सन्तानसँग पनि संवाद गर्ने बताए । बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू आफूहरूसँग रहेको तथा किशुनजीले विवाह नगरेको उनको भनाइ थियो ।
‘पार्टीका लागि पसिना बगाएका नेताहरूका सन्तानहरू हामीसँगै हुनुहुन्छ । सुवर्णशमशेरका छोरा हुनुहुन्न । नातिहरू भोलि आउन सक्छन्, म कुरा गर्छु’, देउवाले भने ।

























