
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले आज (बुधबार)देखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । पार्टी संगठनलाई निर्वाचन केन्द्रित बनाउने र आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यसहित आयोजना गरिएको भेला बिहीबारसम्म चल्नेछ ।
काठमाडौंको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । भेलामा पार्टीको भावी रणनीति, राष्ट्रिय राजनीति, कम्युनिष्ट आन्दोलन, संसदीय संघर्ष, संगठन सुदृढीकरण र विगतमा एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामका बारेमा छलफल हुनेछ । त्यसका लागि पार्टीका शीर्ष नेताहरूले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन् ।
अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा र भावी कार्यभारका बारेमा धारणा राख्नेछन् । वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको जिम्मेवारीलाई समेटेर कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले कम्युनिष्ट आन्दोलन र संसदीय संघर्ष, उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांक तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
पछिल्लो राजनीतिक परिस्थितिमा देखिएको कुशासन र जनतामा बढेको निराशालाई चिर्दै पार्टीमार्फत नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य भेलाले लिएको एमालेको भनाइ छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टीको तल्लो तहसम्मको संगठन परिचालन र निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने विषय पनि भेलाको प्रमुख एजेन्डा रहनेछ ।
भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका प्रतिनिधि तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसमेत गरी ३ हजार ४ सय १४ जनाको सहभागिता रहने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
भेलालाई व्यवस्थित बनाउन सुरक्षा तथा व्यवस्थापनको तयारीसमेत गरिएको एमालेले जनाएको छ । भेलास्थल र सहभागीको सुरक्षाका लागि १०० जना स्वयंसेवक परिचालन गरिने पार्टीले जनाएको छ ।

























