
विराटनगर । विराटनगरमा कराँते खेल्ने क्रममा एक जना खेलाडी घाइते भएका छन् । घाइते हुनेमा संखुवासभाको पाँचखपन नगरपालिका–५ का १७ वर्षीय अस्विन पुरकोटी रहेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित सहिद मैदानमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल भइरहेका बेला मंगलबार साँझ कराँते खेल्दा पुरकोटी घाइते भएका हुन् । घाइते उनलाई तत्काल विराट नर्सिङ होम पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो ।
उपचारपछि स्वास्थ्य अवस्थामा सुधार भएसँगै राति करिब १० बजेतिर उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । पुरकोटीलाई कुनै चोटपटक नरहेको अस्पतालले जनाएको छ ।

























