डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार ०६:२५

काठमाडौं । विकेटकिपर ब्याटर निरोशन डिकवेलाको अविजित अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार फाइनल यात्रा तय गरेको हो। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६।४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै २० बल अगावै पूरा गर्‍यो।

लुम्बिनीको जितमा डिकवेला नायक बने। उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए। ३२ बलमै अर्धशतक पूरा गरेका डिकवेलाले सुरुवाती विकेट पतनपछि सम्हालिएको र आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। कप्तान रोहित पौडेलले २१, दिलीप नाथले अविजित १० र सन्दीप जोराले ८ रन बनाए।

लुम्बिनीको सुरुवात भने कमजोर रह्यो। इनिङ्सको तेस्रो बलमै डार्सी सर्ट शून्य रनमा स्कट कुगेलेइनको बलमा बोल्ड भए। त्यसपछि आसिफ शेख ४ रनमा आउट हुँदा लुम्बिनी २४ रनमा २ विकेट गुमाएर दबाबमा परेको थियो। तर डिकवेला र रोहितले पारी सम्हाल्दै जितको आधार तयार गरे।

यसअघि टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमा सीमित गरेको थियो। सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। पहिलो ओभरमै जर्ज मुन्सी शून्य रनमा आउट भए भने थानुका दबारे र विनोद भण्डारी समान ३ रनमा पभेलियन फर्किए। ८ रनमै ३ विकेट गुमाएको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै उकासेका थिए।

दीपेन्द्रले ५१ बलमा ३ चौका र १ छक्कासहित ५२ रन बनाए भने ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान गर्न नसक्दा सुदूरपश्चिम ठूलो स्कोर बनाउन असफल भयो।

लुम्बिनीका बलरमध्ये रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा १४ रन खर्चिए भने शेर मल्लले ४ ओभरमा २७ रन दिँदै २ विकेट लिए। अभिशेष गौतमले ४ ओभरमा ११ रन दिएर १ विकेट तथा किशोर महतोले १९ रन खर्चेर १ विकेट हात पारे। बलिङसँगै विकेट पछाडि डिकवेलाले २ क्याच र २ रन आउटमा भूमिका निभाउँदै सुदूरपश्चिमको इनिङ्स थप कमजोर बनाए।

सुदूरपश्चिमका बलर थरिन्दु रत्नायकेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामीले ३ ओभरमा १ मेडनसहित १२ रन दिएर १ विकेट तथा स्कट कुगेलेइनले २ ओभरमा २२ रन खर्चेर १ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो जितसँगै लुम्बिनीले सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्दै हेड–टु–हेडमा ३–२ को अग्रता बनाएको छ। यसअघिका चार भेटमा दुवै टोलीले समान २–२ जित निकालेका थिए।

पहिलो संस्करणमा सुदूरपश्चिम ४५ रनले र दोस्रो संस्करणको लिग चरणमा ७ विकेटले विजयी भएको थियो। तर दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले ६ विकेट तथा यस सिजनको उद्घाटन खेलमा ७ विकेटले सुदूरपश्चिमलाई हराएको थियो।

लिग चरणमा दुवै टोलीले समान ५ जित निकाल्दै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेलेका थिए। लुम्बिनी लिगको शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा थियो। लुम्बिनीले काठमाडौंसँग हार बेहोरेको थियो भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो। सुदूरपश्चिम लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भए पनि दोस्रो स्थान सुरक्षित गर्न सफल भएको थियो।

पराजित सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना भने समाप्त भएको छैन। उसले अब काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेल जिते सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान बनाउने अवसर पाउनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.