
काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मंसिर महिनादेखि श्रमिकको दैनिक ज्याला १ हजार ७०० रुपैयाँ पुग्ने बताएका छन् । जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लम्सालले श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय सार्वजनिक गरेका हुन् ।
हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै कमाइरहेको उल्लेख गर्दै मन्त्री लम्सालले यो निर्णयबाट विशेषगरी मधेसका श्रमिक बढी लाभान्वित हुने बताए । उनले भने, ‘देश मधेसले बनाउँछ, किनकि सबैभन्दा बढी बेल्चा चलाउने श्रमिक मधेसमै छन्। यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ ।’
मन्त्री लम्सालले मधेसको विकास र स्थानीय नागरिकको जीवनस्तर सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । साथै, उनले मुलुकभर पूर्वाधार विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



















