सुनको मूल्य ओरालो, अझै घट्ने संकेत

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १४:००
सुनचाँदीको मूल्यमा भारी गिरावट 

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक महिनामा सुनको मूल्य तोलामा ३२ हजार ६ सय रुपैयाँले घटेको छ। मंसिर ३ गते छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ। जबकि, एक महिनाअघि अर्थात् कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो।

यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ८ सय ५० रुपैयाँले घटेको छ। कात्तिक २ गते प्रतितोला ४ हजार १ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य मंसिर ३ गते आइपुग्दा ३ हजार ३ सय ३५ रुपैयाँमा झरेको छ।

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ५ सय अमेरिकी डलरसम्म झर्न सक्ने आकलन भइरहेका बेला त्यसो भए नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार रुपैयाँ हाराहारीमा आउन सक्ने व्यवसायीहरूको अनुमान छ।

नेपाली बजारमा २०८२ साल माघ १५ गते छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर ऐतिहासिक उचाइमा पुगेको थियो। त्यसयता करिब साढे ९ महिनामा सुनको मूल्य तोलामा ८१ हजार ७ सय रुपैयाँले घटिसकेको छ।

मूल्य घट्नुका तीन कारण

व्यवसायीहरूका अनुसार अहिले सुनको मूल्य घट्नुका मुख्य तीन कारण छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार अमेरिकी निर्वाचनको परिणाम, अमेरिकी केन्द्रीय बैंकको ब्याजदरसम्बन्धी संकेत र सुनको उत्पादन लागतमा आएको कमीले मूल्य घटाउन मद्दत गरेको छ।

‘डेमोक्र्याटहरूको विजयले सेयरको मूल्य बढ्न थालेको छ। सेयर बढ्दा सुनको मूल्य घट्छ,’ शाक्य भन्छन्, ‘त्यसमाथि अहिले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउँछ भन्ने चर्चा पनि भइरहेको छ। साथै, सुनको उत्पादन लागत पनि घटेको छ। जसका कारण साना खानीहरू पनि सञ्चालन हुन सकेका छन्। यसले बजारमा सुनको उपलब्धता बढाएको छ।’

सुन किन्ने उपयुक्त समय आएको हो ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार रुपैयाँ हाराहारीबाट घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँमा आइपुगे पनि सर्वसाधारणहरू अहिले सुन किन्ने उपयुक्त समय हो कि होइन भन्नेमा अझै अन्योलमा छन्।

तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य भने अहिलेको मूल्यमा सुन किन्न सकिने बताउँछन्। उनका अनुसार एकैपटक धेरै सुन किन्नुभन्दा मूल्य घटेको समयमा एक–दुई तोलाका दरले किनेर राख्दा भविष्यमा राम्रो प्रतिफल पाउन सकिन्छ।

‘मूल्य घट्दो क्रममा छ र अझै घट्ने अनुमान पनि भइरहेको छ। तर, सधैँ घटिरहन्छ भन्ने हुँदैन,’ उनी भन्छन्, ‘त्यसैले अहिले सुन किनेर राख्न केही हदसम्म अनुकूल समय हो। तर, अस्वाभाविक रूपमा एकैपटक धेरै किन्नु हुँदैन। मूल्य घटेको दिन मिलाएर एक–दुई तोला सुन किन्दा राम्रै हुन्छ।’

सन् २०२७ को पहिलो त्रैमासपछि सुनको मूल्य पुनः उकालो लाग्ने अनुमान भइरहेकाले लगानीका रूपमा सुन किन्न चाहनेका लागि अहिले उपयुक्त समय भएको शाक्यको भनाइ छ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.