
विराटनगर । चीनको ग्वाङझाउमा आयोजित १६० औँ क्युरगी अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्ष (आइअर) २०२६ मा नेपालका १९ जना सहभागी भएका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लागू हुने नयाँ नियम, प्रविधि र निर्णायक पद्धतिबारे ज्ञान तथा सीप अद्यावधिक गराउने उद्देश्यले रिफ्रेसर कोर्षको आयोजना गरिएको हो ।
मंसिर १ देखि ४ गतेसम्म चार दिन सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै विराटनगरका नारायण बुढाथोकीसहित देशभरका १९ जना सहभागी भएका हुन्।
विश्व तेक्वान्दोले चाइनिज तेक्वान्दो एसोसिएसनसँगको सहकार्यमा आयोजना गरेको रिफ्रेसर कोर्षमा नेपालसहित विश्वका ४० भन्दा बढी देशका २८० जना सहभागी रहेको बुढाथोकीले जानकारी दिए।
कोर्षमा विश्व तेक्वान्दोले जारी गरेका खेलका नयाँ नियम, विधि, पद्धति तथा निर्णायक प्रक्रियाबारे प्रशिक्षण दिइएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा एकरूपता कायम गर्नुका साथै रेफ्रीहरूको दक्षता र निर्णय क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले रिफ्रेसर कोर्ष आयोजना गरिएको हो।
यस प्रशिक्षणले सहभागी रेफ्रीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित भएका नयाँ नियम र निर्णय प्रक्रियाबारे अद्यावधिक हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपाली तेक्वान्दो निर्णायकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावकारी सहभागिताका लागि समेत यो अवसर महत्त्वपूर्ण मानिएको छ।

























