
विराटनगर । भारत प्रवेश गरेको चक्रवात ‘अकवान’को प्रभाव नेपालमा न्यून पर्ने देखिएको छ। यसको प्रभावले नेपालको पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा बादल लाग्नेछ। विशेषगरी पूर्वी तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि उल्लेख्य वर्षा हुने संकेत छैन।
उनका अनुसार आगामी १५ दिनको मौसम पूर्वानुमानमा नेपाललाई प्रभावित पार्ने कुनै ठूलो मौसमी प्रणाली विकास हुने सम्भावना देखिएको छैन। त्यसैले तत्काल ठूलो वर्षा वा प्रतिकूल मौसमको जोखिम नरहेको उनको भनाइ छ।
बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको हो। यद्यपि, यसको प्रत्यक्ष प्रभाव नेपालमा कमजोर रहने पूर्वानुमान गरिएको छ।

























