
काठमाडौं । महोत्तरीको गौशालामा घाँस काट्न घरबाट निस्किएकी ६५ वर्षीया महिला भोलिपल्ट बिहान उखुबारीभित्र मृत फेला परेकी छन् । उनको घाँटीमा गम्छा कसिएको अवस्थामा शुक्रबार (आज) बिहान शव भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा ६५ वर्षीया विणामाया पुलामीको शव शुक्रबार बिहान उखुबारीमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार पुलामी बिहीबार घरबाट घाँस काट्न घरबाट निस्किएको भोलिपल्ट आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । घाँटीमा गम्छा कसिएको जस्तो देखिएकाले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण खुलाउने प्रयास भइरहेको जनाएको छ ।

























