
झापा । सजिना स्याङताङको उत्कृष्ट प्रदर्शनसँगै आयोजक झापा–११ फुटबल क्लबले दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापाले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित सर्वाधिक चार गोल गरिन् । ममता राउतले दुई तथा सेमिहाङमा लिम्बू, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले समान एक–एक गोल गरे । खेलको प्लेयर अफ द म्याच घोषित सजिनाले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
पहिलो हाफमा केही प्रतिस्पर्धात्मक देखिएको खेलमा झापाले ३६ औँ मिनेटमा सेमिहाङमा लिम्बूको गोलबाट अग्रता लिएको थियो । अञ्जली चन्दको कर्नरमा सेमिहाङमाले वान टचमा गोल गरेकी थिइन् । ४१ औँ मिनेटमा सजिनाले गोल थपेपछि झापाले पहिलो हाफमा २–० को अग्रता बनायो ।
दोस्रो हाफमा भने झापा पूर्ण रूपमा हाबी भयो । ५५ औँ मिनेटमा सजिनाले व्यक्तिगत दोस्रो गोल गरिन् । ६५ औँ मिनेटमा वैकल्पिक खेलाडी सञ्जु तामाङले मध्यभागबाट बल अघि बढाउँदै उत्कृष्ट गोल गरिन् । त्यसको एक मिनेटपछि सजिनाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ७४औँ र ७८ औँ मिनेटमा ममता राउतले लगातार दुई गोल थपिन् । ८०औँ मिनेटमा सजिनाले व्यक्तिगत चौथो गोल गरिन् । ८५औँ मिनेटमा पुनम चेम्जोङ र इन्जुरी समयमा अञ्जली चन्दले गोल गरेपछि झापाले १०–० को शानदार जित दर्ता गर्यो ।
खेल अवधिभर पोखराले झापाको पोस्टमा उल्लेख्य दबाब सिर्जना गर्न सकेन । पहिलो हाफसम्म सम्हालिएको पोखराको रक्षापंक्ति दोस्रो हाफमा कमजोर बनेपछि झापाले लगातार गोल गर्ने अवसर पाएको थियो ।
प्रतियोगिताअन्तर्गत आइतबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक झापा–११ सहित आठ टोली सहभागी प्रतियोगितामा नेपालका आरएस पोखरा, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा भारतको एभी एफसी र भुटानको थिम्पु राभेन वुमन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दुधे रंगशालालाई नगर गौरवको आयोजनाका रूपमा विकास गरिने बताए । उनले रंगशालालाई फुटबल एकेडेमीका रूपमा विकास गर्दै महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउने योजना रहेको उल्लेख गरे । कार्यक्रम झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राको अध्यक्षतामा सम्पन्न भएको थियो ।

























