तेस्रो प्रयासमा सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार २०:१२

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले अविजित १२५ रन बनाए । उनले ५४ बलमा १२ चौका र ८ छक्का प्रहार गरे । विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसका लागि दिलीप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाए ।

सुदूरपश्चिमले लगातार तेस्रोपटक एनपीएलको फाइनल खेलेको हो । यसअघिका दुई संस्करणमा उपविजेतामा सीमित भएको टोलीले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको छ । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले यसपटक भने लुम्बिनीलाई नै हराएर उपाधि उचाल्यो ।

उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.