
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै टोलीका लागि आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारी योजनाअनुसार विराटनगरमा पनि अन्तर्राष्ट्रियस्तरको क्रिकेट पूर्वाधार निर्माण हुने भएको हो ।
प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलका आठवटै क्लबका लागि रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् । उनका अनुसार एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित रंगशाला तयार गरिनेछ ।
विराटनगर किंग्सको घरेलु मैदानका रूपमा बैजनाथपुर क्रिकेट रंगशाला रहनेछ । यसले विराटनगरसहित कोशी प्रदेशमा क्रिकेट पूर्वाधार विस्तार र प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहका अनुसार रंगशाला निर्माणको जिम्मा नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ । सुदूरपश्चिमको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिने उनले बताएका छन् ।
योजनाअनुसार लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदानका रूपमा विकास गरिनेछ ।

























