देउवा भन्छन्, ‘जेनजीहरूले नै हामीलाई बचाए’

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १८:२४

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवालाई जेनजी युवाहरूले नै बचाएको बताएका छन् ।

कांग्रेसको देउवा पक्षले शनिबार आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरू घाइते भएर पनि बाँच्न सफल भएको बताए ।

‘मेरी श्रीमती आरजु र मलाई मारिसकेका थिए, हामी बाँचेका हौँ । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएनन् । घर जाने बाटोमा धेरै मान्छे बसेका थिए । पछि सेनाको गाडी आएपछि हामी सेनाको क्याम्पमा बस्यौँ । त्यहीँ उपचार भएर हामी बाँचेका हौँ ।’

आन्दोलनका क्रममा आफूलाई जेनजी युवाहरूले नै बचाएको उनको भनाइ थियो । ‘मलाई जेनजीहरूले बचाएका हुन् । फोटोमा पनि बचाउनेहरू देखिन्छन् । जेनजीको नाममा ५० वर्षमाथिका मानिसहरूले ढुंगामुढा हाने,’ उनले भने ।

आफूमाथि भएको आक्रमणका पछाडि ठूलो षड्यन्त्र रहेको देउवाले दाबी गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी आरजु मन्त्री र रमेश लेखक गृहमन्त्री रहेको स्मरण गर्दै उनले भट्टराई निवासमा आक्रमण हुनुको कारणमाथि प्रश्न उठाए ।

‘त्यसमा धेरै ठूलो षड्यन्त्र थियो । लौ ठिक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन्, गृहमन्त्री रमेश लेखक थिए । भट्टराई निवास किन हानेको ?’ उनले प्रश्न गरे।

त्यसबेला बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घरसम्म आक्रमण भएको उनले बताए । देशभर कांग्रेसका पार्टी कार्यालयमा पनि तोडफोड र आक्रमण गरिएको उल्लेख गर्दै देउवाले त्यसलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.