
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको उक्त कार्यालयले शुक्रबार सूचना जारी गर्दै ती कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा कारबाही गरिएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सम्झौताअनुसारको काम तोकिएको समयमा सम्पन्न नगरेको भन्दै ती निर्माण व्यवसायीलाई कालो सूचीमा राखिएको हो।
कालो सूचीमा परेका कम्पनीले अब एक वर्षदेखि अढाइ वर्षसम्म कुनै पनि सरकारी खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। तोकिएको अवधिभर उनीहरूलाई सार्वजनिक निकायका ठेक्कापट्टा तथा खरिद प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ।




















