
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले राजसंस्था नारायणहिटी दरबारबाट बाहिरिएको करिब २ दशक बितिसक्दा पनि देशले भोग्नुपरेको संकट अझै समाधान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । पूर्वराजा शाहले आफू राजकाजबाट अलग भएको लामो समय बितिसक्दा पनि राजनीतिक स्थायित्व, आर्थिक प्रगति र सामाजिक सद्भावको अवस्था सुदृढ हुन नसक्नुले आफूलाई गम्भीर रूपमा चिन्तित तुल्याएको बताए ।
‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब २ दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो । आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ उनले सन्देशमा भनेका छन् । उनले भाषण, जादू वा चमत्कारले देश नबन्ने स्पष्ट उल्लेख गर्दै देश निर्माणका लागि सबै नेपालीले कर्तव्यबोधका साथ व्यवहारिक बाटो समात्नुपर्ने आवश्यकता औंल्याए ।
देश बनाउने काम १ एक व्यक्ति, समूह वा नाराबाट सम्भव नहुने भन्दै उनले बरु साझा जिम्मेवारी र ऐतिहासिक चेतनाको निरन्तरताबाट मात्र सम्भव रहेको उल्लेख गरे । ‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि,’ उनले भने, ‘सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ ।’
पूर्वराजा शाहले झण्डै २ दशकअघि शान्ति, आर्थिक समृद्धि र स्थायित्व दिने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा पुगेका राजनीतिक दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासोका रूपमा जनताकै सुरक्षित र संरक्षित निकायमा बुझाएको स्मरण गराए । उनले त्यसपछि सहयोगी नियतका साथ राजकाजबाट बाहिर बसेर देशको अवस्थालाई नियालिरहेको पनि उल्लेख गरे ।
उनले आधुनिक नेपालको ऐतिहासिक आधार स्मरण गर्दै पृथ्वीनारायण शाहको एकीकरण अभियान सफल भएपछि नेपाललाई ४ वर्ण ३६ जातको साझा फूलबारीका रूपमा चित्रण गरेको प्रसंग उठाए । उनका अनुसार यही साझा पहिचान, सहअस्तित्व र राष्ट्रिय एकता नै नेपालको मौलिक शक्ति हो । जसलाई कमजोर बनाउँदा राज्य स्वयं संकटमा पर्ने खतरा रहने शाहको भनाइ छ ।
पूर्वराजा शाहले फेरि पनि सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले ऐतिहासिक रूपमा निर्वाह गर्दै आएको भूमिकालाई स्मरण गराउँदै जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने धारणा दोहोर्याए । उनले राष्ट्रिय एकता, आत्मसम्मान र दीर्घकालीन स्थायित्वको प्रश्नमा सबै नेपाली गम्भीर हुनुपर्ने संकेत पनि दिए ।
उनको यो सन्देशलाई वर्तमान राजनीतिक अवस्था, बढ्दो असन्तोष र भविष्यप्रतिको अनिश्चिततासँग जोडेर हेरिएको छ । राष्ट्रिय एकता दिवसको सन्दर्भमा आएको यस अभिव्यक्तिले मुलुक कुन दिशातर्फ गइरहेको छ भन्ने प्रश्नलाई फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ ।

























