
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमा नै विकास गरेको ‘मुनाल’ नामक उपग्रह आज सोमबार प्रक्षेपण गर्दैछ। उच्च माध्यमिक तहका विद्यार्थीको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकासमा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको यो उपग्रह मुख्यतः वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ। यसको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट हुने नास्टले जनाएको छ।
नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको ‘पीएसएलभी–सी५९’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा अन्तरिक्षमा पठाइनेछ। भारतीय समयअनुसार बिहान १०:१७ बजे र नेपाली समयअनुसार १०:३२ बजे भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट यसको प्रक्षेपण हुने तालिका छ। यो परियोजनाले नेपाली विद्यार्थी र वैज्ञानिकहरूलाई अन्तरिक्ष प्रविधिको क्षेत्रमा थप हौसला र अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

























