
काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक संयन्त्रमा आंशिक फेरबदल गर्दै २ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित ८ जना उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार विभिन्न जिल्लामा कार्यरत तथा मन्त्रालय अन्तर्गतका उपसचिवहरूलाई नयाँ जिम्मेवारीसहित खटाइएको हो । मन्त्रालयका अनुसार डोल्पामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
यस्तै, बझाङका प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयकै उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
त्यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ भने उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बागलुङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवश्यकताअनुसार सरुवा तथा पदस्थापन गरिएको बताउँदै आएको छ । यसपटकको सरुवालाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गतको निर्णयका रूपमा मन्त्रालयले व्याख्या गरेको छ ।

























