
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका वार्ता टोलीका सदस्यहरू पहिलो चरणको छलफलको प्रगतिबारे जानकारी दिन पार्टी सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्ज पुगेका छन्। विशेष महाधिवेशन पक्षधरसँग मंगलबार बिहान बालुवाटारमा भएको वार्तामा ठोस सहमति जुट्न नसकेपछि टोलीले सभापति देउवालाई त्यहाँ उठेका माग र अडानबारे ब्रिफिङ गर्न लागेको हो।
देउवा र डा. शेखर कोइराला पक्षका तर्फबाट वार्ता समितिमा रहेका बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजालले विशेष पक्षका मागबारे सभापतिलाई जानकारी गराएपछि मात्रै दोस्रो चरणको वार्ताको रणनीति तय हुने देखिएको छ।
विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेताहरू गुरुराज घिमिरे र देवराज चालिसेले राखेका कतिपय प्रस्तावका कारण सहमति जुट्न कठिन भइरहेको संस्थापन पक्षको दाबी छ। विशेष पक्षले चुनावको टिकट वितरणमा उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले पेस गरेको पार्टी पुनर्संरचना सम्बन्धी प्रस्तावलाई जस्ताको तस्तै स्वीकार गर्नुपर्ने सर्तहरू राखेका छन्। यी प्रस्तावहरूले पार्टीको वर्तमान शक्ति सन्तुलनमा ठूलो हेरफेर ल्याउने भएकाले संस्थापन पक्ष सशङ्कित देखिएको छ।
वार्ता लम्बिदै जानुको मुख्य कारण भने विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व त्याग र भागबण्डाको माग रहेको बुझिएको छ। वार्तामा सहभागी एक नेताका अनुसार विशेष पक्षले गुटगत आधारमा ४० प्रतिशत भागबण्डा दिनुपर्ने, सभापति देउवा पदबाट हट्नुपर्ने र आगामी निर्वाचनमा उनी उम्मेदवार बन्न नहुने जस्ता गम्भीर प्रस्तावहरू अगाडि सारेका छन्।
यस्ता ‘अस्वाभाविक’ मागहरू पूरा गर्न नसकिने अडान देउवा पक्षले लिएपछि वार्ता निष्कर्षविहीन बन्दै गएको छ। यद्यपि, दुवै पक्षबीच दोस्रो चरणको वार्ता आजै दिउँसो साढे २ बजे पुनः बस्ने तयारी भइरहेको छ, जसले कांग्रेसको आगामी आन्तरिक राजनीतिक कार्यदिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

























