
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको ७ औँ वार्षिक साधारण सभाले सेयरधनीका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
मंगलबार मोरङको कटहरी गाउँपालिका –२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा भएको साधारण सभाले आर्थिक वर्ष २०८१ / ०८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई साधारण सभाले अनुमोदन गरेको थियो ।
बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी वृद्धि भएको छ । जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ थियो । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरण पश्चात् संस्थाको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
जीवन विकास लघुवित्तले लगानीकर्तालाई प्रतिफल वितरणमा निरन्तरता दिँदै आएको छ । यसअघि पनि संस्थाले लगातार २ वर्ष १४ प्रतिशतकै दरले बोनस सेयर वितरण गरेको थियो ।
साधारण सभाको उद्घाटन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं पूर्व सांसद योगेन्द्र मण्डलले बैंक तथा वित्तीय संस्थालाई कमजोर बनाउन विभिन्न पक्षबाट योजनाबद्ध प्रहार भइरहेको बताए ।
‘अहिले बैंक र लघुवित्तलाई योजनाबद्ध रूपमा क्षति पुर्याउन खोजिएको छ, यो एकदमै गलत कार्य हो,’ मण्डलले भने, ‘नेपाल गरिब भयो भने वैदेशिक शक्तिलाई सजिलो हुन्छ । खाडी र ठुला देशहरू नेपाल सधैँ गरिब रहिरहोस् भन्ने चाहन्छन् ।’
ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रलाई बलियो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । गरिब र विपन्न वर्गको उत्थानका लागि स्रोत जुटाउने उद्देश्यले जीवन विकासको स्थापना भएको स्मरण गर्दै उनले बेरोजगारी अन्त्यका लागि संस्थाले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेको बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रतिकुल अवस्थामा पनि जीवन विकासले सदस्यको घरदैलोमा पुगेर लघुवित्त र सामाजिक सेवा प्रवाह गरिरहेको बताए । संस्थालाई दरिलो बनाउन कर्मचारीको मेहनत उच्च रहेको बताउँदै उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि काम गरिरहेको बताए ।
सो अवसरमा सञ्चालक सदस्य वन्दना जैनले जीवन विकासले वित्तीय सेवा प्रवाह मात्र नभई सामाजिक र आर्थिक रूपान्तरणको सशक्त माध्यम भएको बताइन् । वित्तीय पहुँचबाट वञ्चित रहेको समुदायसम्म पुगेर स्वरोजगार अभियान सञ्चालन गर्नु जीवन विकासको मुख्य उद्देश्य रहेको प्रस्ट्याइन् ।
अर्का सञ्चालक सदस्य गोकर्ण खतिवडाले गरिबी न्यूनीकरणका लागि जीवन विकासको अभियान प्रभावकारी रहेको बताए । जीवन विकास राम्रो अवस्थामा रहेको बताउँदै उनले अझ राम्रो बनाउने बताए ।
संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्दै अघि बढ्नु पर्ने बताए । कर्मचारीको योगदानका कारण संस्थाले राम्रो उपलब्धि हासिल गरेको बताउँदै उनले संस्थाले थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, सञ्चालक सदस्य श्यामचन्द्र खतिवडाले संस्थाले आफ्नो सेवालाई प्रभावकारी रूपमा अघि बढाउने बताए । कर्मचारीको मेहनतका कारण संस्थाका सेयर सदस्यले मुनाफा वितरण गर्ने अवस्था बनेको बताउँदै उनले जीवन विकासले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरिरहेको सुनाए ।
सामुदायिक महिला विकास केन्द्र स्वेडेकका कार्यवाहक अध्यक्ष माधवप्रसाद देवले जीवन विकासले आफ्नो लक्ष्य अनुसार काम गरिरहेको बताए । आफ्ना सदस्यको जीवनस्तर उकास्नका लागि जीवन विकासले ध्यान दिएको सुनाए । गरिबी निवारणको अभियानलाई सफल बनाउन उनले आग्रह गरे ।

जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले जीवन विकासका कर्मचारीको मेहनतले संस्थाले प्रगति गरिरहेको बताइन् । गरिबी निवारणको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले जीवन विकासले थप प्रगति गर्दै जाने बताइन् ।
सल्भ नेपालका राजेन्द्र प्रधानले जीवन विकासले प्रभावकारी रूपमा सामाजिक अभियान सञ्चालन गरिरहेको बताए । लघुवित्त वित्तीय संस्थाविरुद्ध सञ्चालन भएका गतिविधिलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए । उनले नेपालमा गरिबी निवारणका लागि लघुवित्त वित्तीय संस्थाले ठुलो भूमिका निर्वाह गरिरहेको बताए । संस्थाको सेवालाई इनोभेटिक रूपमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले जीवन विकासले वित्तीय र सामाजिक सेवालाई सदस्यको घरदैलोमा पुर्याएर सेवा प्रवाह गरिरहेको बताए । लघुवित्त क्षेत्रमा देखिएको कठिनाइका बीच यसले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको उनले बताए । संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउँदै उनले गैरसरकारी संस्थाको पृष्ठभूमिबाट उदाएका लघुवित्त वित्तीय संस्थाहरूलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरे ।
जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले संस्थाले सेवा प्रवाहलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताए । लघुवित्त वित्तीय संस्थामाथि प्रहार भइरहेको अवस्थामा पनि जीवन विकासले वित्तीय सेवासँगै सामाजिक अभियानसमेत निरन्तर सञ्चालन गरिरहेको बताए । ‘लघुवित्त क्षेत्रमा विगत ३ वर्षदेखि समस्या भोगिरहेका छौँ,’ उनले भने, ‘जीवन विकास यो अवधिमा निकै सबल र मजबुत भएको छ, जीवन विकासको सेवा प्रवाह गर्ने मुख्य माध्यम केन्द्रहरू (समूह) हुन्, केन्द्रको गुणस्तर सुधार भएको छ ।’ त्यसैले आगामी दिनमा लघुवित्त कार्यक्रम अझ सशक्त ढंगमा अघि बढ्ने छ ।
त्यसैगरी, संस्थाको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भए । मंगलबार सम्पन्न संस्थाको ७ औँ वार्षिक साधारण सभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी ४ वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।


























