
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ ।
यसको असरले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य पहाडी र हिमाली भू–भागमा मौसम प्रायः सफा रहेको छ । बुधबार दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ ।
बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ ।
राति पनि तराईका केही भू–भागमा हुस्सु रहने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम खुला रहने मौसमविद्हरूले बताएका छन् ।
महाशाखाले तराईमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

























