
काठमाडौँ । मुलुकको प्रदेश संरचना हटाउन र सनातन संवैधानिक राजसंस्था स्थापनाको आह्वान गर्दै ५० लाख मानिसलाई मोबाइलमा एसएमएस पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ। चितवन घर भई गाडी व्यवसायमा संलग्न ३४ वर्षीय सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति काठमाडौँको हात्तीसारबाट नियन्त्रणमा लिएको हो। उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत ठूलो संख्यामा सामूहिक सन्देश (ग्रुप म्यासेज) पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सेढाईंले ५० लाख मानिसलाई म्यासेज पठाएको कुरा स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिनुभएको छ। उनले पठाएको म्यासेजमा नेपालका समस्याहरूको स्थायी समाधानका लागि प्रदेश संरचना खारेज गरी प्रत्यक्ष निर्वाचित संरचनासहितको राजसंस्था स्थापना गर्नुपर्ने उल्लेख थियो। साथै, उनले पुस ३० गते दिउँसो १२ बजे बालुवाटारस्थित निषेधित क्षेत्रमा अनिश्चितकालका लागि उपस्थित हुन समेत सर्वसाधारणलाई आह्वान गरेका थिए।
प्रहरीका अनुसार म्यासेजमार्फत जनतालाई आतङ्कित पारेको र निषेधित क्षेत्रमा प्रदर्शनका लागि उक्साएको आरोपमा उनीमाथि सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइने भएको छ। यसअघि उनले पठाएको उक्त सन्देश सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो।

























