
विराटनगर । माघे संक्रान्तिको बिहानी सुनसरीको भोक्राहानर्सिङमा ट्रक दुर्घटना हुँदै एउटै वडाका पाँच जनाकाे मृत्यु भएको छ । विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको टायल र मार्बल लोड गरिएको ट्रक दुर्घटना हुँदा त्यसमा सवार ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको हाे ।
हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार सडकको घुम्तीमा तीव्र गतिको ट्रक अनियन्त्रित भई पल्टिएको थियो । उनका अनुसार ट्रकको पछाडि सामानमाथि बसेका ५ जनाकाे मजदुर टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गएको हाे ।
दुर्घटनामा ज्यान गुमाउने पाँचै जना सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् । प्रहरीका अनुसार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङकाे मृत्यु भएकाे हाे ।
दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए । जसमध्ये ४ जना चालकको क्याबिनमा र ५ जना पछाडि सामानमाथि बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन् । चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

























