नेपालमा बालबालिकाको संख्या तीव्र रूपमा घट्दो

Share this
830shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार ०९:२२

काठमाडौँ । नेपालको कुल जनसंख्यामा बालबालिकाको अनुपात निरन्तर घट्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ। राष्ट्रिय जनगणना २०७८ मा आधारित ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिवेदनअनुसार हाल नेपालमा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५ सय ८३ रहेको छ, जुन कुल जनसंख्याको ३४ प्रतिशत मात्र हो।

विसं २०५८ मा ४६ प्रतिशत र २०६८ मा ४२ प्रतिशत रहेको यो हिस्सा २० वर्षको अवधिमा १२ प्रतिशत विन्दुले घटेको छ। कार्यालयको प्रक्षेपणअनुसार विसं २१०८ सम्ममा यो अनुपात घटेर २२ प्रतिशतमा सीमित हुने देखिएको छ।

तथ्यांकअनुसार नेपालका २९ प्रतिशत घरपरिवारमा एक जना पनि बालबालिका छैनन्। बालबालिका नभएका परिवारको संख्या बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएको छ। राष्ट्रिय स्तरमा प्रतिपरिवार औसत १.५ जना बालबालिका रहे पनि मधेस प्रदेशमा यो दर २.१ र बागमतीमा १.१ प्रतिशत मात्र छ। बालबालिकाको संख्या घट्दै जाँदा नेपाल निकट भविष्यमै वृद्धवृद्धाको संख्या बढी भएको मुलुक बन्ने र यसले गर्दा मुलुकले जनसाङ्ख्यिक लाभ लिन नसक्ने संकेत देखिएको छ।

प्रतिवेदनले बालबालिकाका क्षेत्रमा बालविवाह, बालश्रम र मानसिक स्वास्थ्यजस्ता गम्भीर चुनौतीहरू अझै कायम रहेको औँल्याएको छ। अहिले पनि १६ देखि १७ वर्षको उमेर समूहका ५ प्रतिशत बालबालिकाको विवाह भइसकेको पाइएको छ, जसमध्ये २६ प्रतिशत किशोरीहरू कलिलो उमेरमै गर्भवती हुने गरेका छन्। यस्तै, १० देखि १७ वर्ष उमेर समूहका ३२ प्रतिशत बालबालिका आर्थिक रूपले सक्रिय रहेका छन् भने ३१ हजारभन्दा बढी बालबालिका आफैँ घरमुलीको भूमिकामा रहेका छन्।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि सुधारको आवश्यकता देखिएको छ। देशभर ९० प्रतिशत बालबालिका विद्यालय गए पनि मधेस प्रदेशमा १९ प्रतिशत बालबालिका अझै विद्यालय बाहिरै छन्। विशेषगरी बालमृत्युको तथ्यांकमा आत्महत्याको हिस्सा डरलाग्दो देखिएको छ।

बालिका मृत्युको कारणमध्ये ६ प्रतिशत र बालक मृत्युमा ३ प्रतिशत कारण आत्महत्या पाइएको छ। यस्ता जटिल समस्या समाधानका लागि प्रभावकारी नीतिगत हस्तक्षेप र लक्षित कार्यक्रमहरू अपरिहार्य रहेको उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले बताएका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.