
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन (शेरबहादुर देउवा) पक्षका नेताहरू आज बिहानै निर्वाचन आयोग पुगेका छन्। कान्तिपथस्थित आयोगको कार्यालयमा देउवा पक्षका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ र जीतजंग बस्नेत लगायतको टोली पुगेको हो।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले ‘विशेष महाधिवेशन’ मार्फत नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसमा अहिले आधिकारिकताको ठूलो विवाद सिर्जना भएको छ। गगन–विश्व पक्षले बिहीबार नै आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइसकेको छ। सोही निवेदनका आधारमा आयोगले कुनै निर्णय लिनुअघि आफ्नो पक्षमा दबाब सिर्जना गर्ने उद्देश्यले देउवा पक्षका नेताहरू आयोग पुगेको बुझिएको छ।
यसैबीच, देउवा पक्ष निकटका तरुण दलका कार्यकर्ताहरूले निर्वाचन आयोग घेर्ने तयारी समेत गरेका छन्। पार्टीको आधिकारिकता र चुनाव चिन्हको विषयलाई लिएर दुवै पक्षबीच विवाद बढ्दै जाँदा निर्वाचन आयोग अहिले ठूलो कानुनी र राजनीतिक दबाबमा परेको छ।

























