
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन्। महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको मुद्दा फिर्ता लिने निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ। साथै, लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन परमादेशको माग गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को प्रावधान विपरीत नयाँ प्रमाण बिना नै अभियोग संशोधन गरी लामिछानेलाई उन्मुक्ति दिन खोजिएको रिटमा उल्लेख छ। निवेदकले काठमाडौँ, कास्की र रुपन्देही जिल्ला अदालतमा चलिरहेका मुद्दाहरूमा लामिछानेको हकमा मात्र अभियोग दाबी कायम नरहने गरी गरिएको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको जिकिर गरेका छन्। महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णयले कानुनी राज्यको उपहास गरेको निवेदकको ठहर छ।

























