
काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न हुनेमा अझै आशङ्का रहेको जनाएको छ। शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको आचारसंहिता सम्बन्धी छलफलमा एमाले सचिव डा. राजन भट्टराईले आयोगको तयारी र अनुगमन प्रणालीमाथि प्रश्न उठाए।
आचारसंहिता बने पनि त्यसको कार्यान्वयनका लागि आयोगको अनुगमन प्रणाली प्रभावकारी नभएको भट्टराईले जिकिर गरे। विगतका निर्वाचनमा अनुगमन फितलो हुँदा समस्या देखिएको उनले स्मरण गराए।
निर्वाचनमा हुने आर्थिक चलखेल र शक्तिको प्रयोगलाई नियन्त्रण गर्न आयोग कति तयार छ भन्दै उनले प्रश्न गरे। उम्मेदवारहरू ढुक्कसँग जनताको माझमा जान पाउने र प्रलोभनमा नपरी मतदान गर्ने वातावरण अझै सुनिश्चित भइनसकेको एमालेको ठहर छ।
निर्वाचन प्रचारप्रसारका लागि आचारसंहितामा तोकिएका कतिपय व्यवस्था व्यावहारिक नरहेको तर्फ पनि भट्टराईले आयोगलाई सचेत गराए। ‘निर्वाचन निष्पक्ष हुने कुरामा जनतालाई विश्वास दिलाउन आयोगको भूमिका के हो?’ भन्दै सचिव भट्टराईले आयोगलाई थप सक्रिय र जिम्मेवार बन्न आग्रह गरे।

























