
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशैभर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। निर्वाचन सञ्चालन तथा व्यवस्थापनलाई विकेन्द्रीकृत र प्रभावकारी बनाउन आयोगले आज शुक्रबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याएको हो।
माघ ६ गते हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयनलाई मध्यनजर गर्दै आयोगले यी कार्यालयहरू खोलेको हो। उम्मेदवारी दर्ता, दाबी–विरोध, निर्वाचन चिह्न प्रदानदेखि मतदान र मतगणनासम्मका सबै प्रक्रियाहरू सम्बन्धित निर्वाचन क्षेत्रकै कार्यालयमार्फत सम्पन्न हुनेछन्।
आयोगले ७७ जिल्लाका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। जसमा न्यायपरिषद्को सिफारिसमा जिल्ला न्यायाधीशहरूलाई जिम्मेवारी दिइएको छ। बाँकी ८८ निर्वाचन क्षेत्रका लागि निजामती सेवा र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत दुवैलाई एउटा–एउटा निर्वाचन क्षेत्रको प्रत्यक्ष कमान्ड सम्हाल्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। आज कार्यालय स्थापना भएसँगै ती क्षेत्रहरूमा आवश्यक जनशक्ति व्यवस्थापन र सामग्री ढुवानीको काम अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले सो पूर्व नै सबै प्राविधिक तयारी पूरा गर्न आयोगले निर्देशन दिएको छ।

























