
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट निवेदन पेस भएको छ।
सहकारी ठगी प्रकरणसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने वा संशोधन गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट पेस गरेका हुन्।
यसअघि युवराज पौडेल ‘सफल’ ले पनि सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गराइसकेका थिए। अधिवक्ता त्रिपाठीले आफ्नो निवेदनमा महान्यायाधिवक्ताको उक्त कदम बदनियतपूर्ण रहेको र यसले अपराधीलाई उन्मुक्ति दिने खेल भएको उल्लेख गरेका छन्।
उनले न्याय प्रक्रियामा अवरोध सिर्जना हुने भन्दै महान्यायाधिवक्ताको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतसँग ‘अन्तरिम आदेश’ को माग समेत गरेका छन्।

























