
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ। शुक्रबार राजधानीको कोटेश्वरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार र महान्यायाधिवक्ताको उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयले गोर्खा मिडिया प्रालिसँग जोडिएको सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य आरोपितहरूको हकमा अभियोगपत्र संशोधन गर्ने र केही गम्भीर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि नेविसंघ सडकमा उत्रिएको हो। प्रदर्शनकारीहरूले कानुनी प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको र दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका कारण केही समय कोटेश्वर क्षेत्रको यातायात समेत प्रभावित भएको थियो। महान्यायाधिवक्ताको यो पछिल्लो निर्णयलाई लिएर राजनीतिक वृत्त र नागरिकस्तरमा समेत पक्ष र विपक्षमा बहस सुरु भएको छ।

























