
काठमाडौँ । अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ। मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने दाबी गरेका छन्।
पछिल्लो समय निर्वाचन सर्नेबारे बजारमा चलेका विभिन्न हल्लाहरूको खण्डन गर्दै मन्त्री खरेलले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा केन्द्रित रहेको बताए। ‘फागुन २१ का लागि निर्वाचनको मिति तोकिसकिएको छ, अब त्यो भन्दा यताउति हुँदैन,’ उनले भने,’निर्वाचन गराउने दायित्व सरकारको मात्र नभई सबै सरोकारवाला निकायको पनि हो।’ उनले सरकारले निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको र निर्धारित समयमै मतदान गराउन गम्भीरताका साथ लागिरहेको उल्लेख गरे।
मन्त्री खरेलले निर्वाचनको तयारीका सन्दर्भमा सरकारले निर्वाचन आयोगको निर्णय र परामर्शलाई समेत नजिकबाट नियालिरहेको जानकारी दिए। शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै उनले सबै राजनीतिक दल र पक्षहरूलाई चुनावी वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

























