
विराटनगर । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति अन्दाजी ८:१५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित हर्चना टोलमा सैनिकमोड–भद्रपुर सडक खण्डमा दुर्घटना भएको हो ।
सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१-०१-०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं. ७ निवासी ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























