
काठमाडौँ । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन सरकारी निकायबाट भएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा संघले प्रदर्शन गरेको हो।
युवा संघको केन्द्रीय कार्यालयबाट निस्किएको विरोध र्यालीले राजधानीका विभिन्न भागको परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले सरकार र रवि लामिछानेविरुद्ध चर्को नाराबाजी गरेका थिए। सहकारी ठगी तथा अन्य अभियोगमा अनुसन्धान भइरहेका लामिछानेको मुद्दालाई महान्यायाधिवक्ताको कार्यालयले कमजोर बनाउने गरी निर्णय गरेको भन्दै युवा संघले आपत्ति जनाएको छ। पछिल्लो समय सरकारी निकायबाटै मुद्दा प्रभावित पार्ने खेल भइरहेको भन्दै संघले निष्पक्ष छानबिन र कारबाहीको माग गरेको हो।
प्रदर्शनमा युवा संघले भेनेजुयलामाथि भइरहेको अमेरिकी हस्तक्षेपको समेत कडा विरोध गरेको छ। अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकाले गर्ने हस्तक्षेपको विपक्षमा उभिनु युवा संघको दायित्व भएको नेताहरूले बताएका छन्। विरोध कार्यक्रममा युवा संघका केन्द्रीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

























