
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका झापा जिल्ला संयोजक राजु आचार्य ‘अग्नि’ले पार्टी परित्यागको घोषणा गरेका छन्। आचार्यले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीसँगको झण्डै तीन दशक लामो सम्बन्ध टुटाएको जानकारी दिएका हुन्।
आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु। २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ।’ आगामी निर्वाचनका लागि टिकट वितरणमा नेतृत्वले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोडेको हुनसक्ने उनी निकट स्रोतले बताएको छ। यद्यपि, आचार्य आफैँले भने पार्टी छोड्नुको ठोस कारणबारे थप खुलाउन चाहेनन्।
झापामा माओवादी आन्दोलनमा लामो समयदेखि सक्रिय रहेका आचार्यको बहिर्गमनलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी चुनावी सरगर्मी बढिरहेका बेला जिल्ला संयोजकले नै पार्टी त्याग्नुले माओवादी केन्द्रलाई झापामा धक्का पुग्ने विश्लेषण गरिएको छ।

























