
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। आयोगका अनुसार समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई कार्य सम्पन्न भइसकेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाई कार्य अन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छापिएको छ।
आयोगले कुल मतदाता सङ्ख्या भन्दा केही प्रतिशत बढी हुने गरी जम्मा दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ। उपलब्ध गराइएको पछिल्लो विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार थान मतपत्र छपाई हुन बाँकी रहेको छ।
मतपत्र छपाईसँगै प्याकिङको काम पनि धमाधम भइरहेको छ। हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र प्याकिङ भइसकेको छ भने १४ हजार ४२० बाकस प्याकिङ गर्न बाँकी छ। केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रूपमा आयोगमा पठाइसकिएको जानकारी दिएको छ।

























