
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ‘हेभिवेट’ प्रतिस्पर्धा निश्चित भएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
कसको पल्ला भारी? यसअघि सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बिहान ११ बजे नै उम्मेदवारी दर्ता गराइसकेका छन्। एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेकाले झापा–५ को यो भिडन्तलाई ‘प्रधानमन्त्रीको भिडन्त’ का रूपमा हेरिएको छ। बालेनको उम्मेदवारीमा भेषराज भट्टराई प्रस्तावक र भूमिनन्दन बराल समर्थक रहेका छन्।
झापा–५ ओलीको यो क्षेत्र २०४८ सालदेखिको बलियो पकड मानिन्छ। २०७९ को निर्वाचनमा उनले ५२ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए। तर, यसपटक काठमाडौँका पूर्वमेयर बालेन शाहको ‘इन्ट्री’ र नेकपाका युवा नेता रञ्जित तामाङको उम्मेदवारीले ओलीको गढमा कडा चुनौती थपिएको छ।
उम्मेदवारी दर्ताका लागि दमक पुगेका ओलीले बालेनप्रति लक्षित गर्दै चर्चाका लागि मात्र उम्मेदवारी दिएको हुन सक्ने टिप्पणी गरेका छन्। यता बालेन समर्थकहरूले भने ‘परिवर्तनका लागि युवा’ भन्दै झापामा व्यापक चुनावी माहोल सिर्जना गरेका छन्।
सयौँको संख्यामा रहेका एमाले र रास्वपाका कार्यकर्ताहरूको शक्ति प्रदर्शनले दमकको राजनीतिक तापक्रम ह्वात्तै बढाएको छ। अबको मुख्य प्रतिस्पर्धा ओलीको अनुभव र संगठन तथा बालेनको क्रेज र युवा लहरबीच हुने निश्चित छ।

























