कांग्रेस आधिकारिकता विवाद: गगन थापालाई सर्वोच्चको साथ, देउवा पक्षको माग अस्वीकार

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १८:१६

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश मात्र जारी गरेको हो।

सर्वोच्चको यो आदेशसँगै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई पार्टीको नेतृत्व सम्हाल्न र आसन्न निर्वाचनको प्रक्रिया अगाडि बढाउन कानुनी बाटो सहज भएको छ। थापाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको टिकटमा हस्ताक्षर गरी मनोनयन दर्ता समेत गराइसकेका छन्।

शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै विशेष महाधिवेशन अवैध रहेको र त्यसले गरेको नेतृत्व चयन विधानविपरीत भएको दाबीसहित रिट दायर गरेका थिए। उनीहरूले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०८२ माघसम्म रहेको अवस्थामा बीचमै नेतृत्व परिवर्तन गर्नु लोकतान्त्रिक मान्यता र पार्टी विधानको धारा १७, २७ र ४३ विपरीत रहेको जिकिर गरेका थिए।

रिटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको निर्णयबिना नै आफूखुसी विशेष महाधिवेशन बोलाएको, कोरम नपुगेको र हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाइएको थियो। साथै, निर्वाचन आयोगले ४० प्रतिशत सदस्यको हस्ताक्षर प्रमाणीकरण नगरी एकपक्षीय रूपमा विवरण अद्यावधिक गरेको भन्दै आयोगको २०८२/१०/०२ को निर्णय बदर गर्न माग गरिएको थियो।

तर, अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगको विवरण अद्यावधिक गर्ने निर्णय तत्कालका लागि यथावत् रहने भएको छ। यसले निर्वाचनको मुखमा कांग्रेसभित्रको नेतृत्व विवादमा गगन थापा पक्षलाई कानुनी र राजनीतिक रूपमा बलियो बनाएको छ।

आयोगका अनुसार फागुन २१ को निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भइसकेको छ। कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको छ। जसमा डा. शेखर कोइराला (मोरङ–६), गगन थापा (सर्लाही–४), विश्वप्रकाश शर्मा (झापा–१), प्रदीप पौडेल (काठमाडौँ–५) लगायतका नेताहरू गगन थापाकै हस्ताक्षरमा चुनावी मैदानमा उत्रिएका छन्।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरबाट २४०० भन्दा बढी उम्मेदवारको मनोनयन परेको छ र आयोगले छिट्टै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.