
विराटनगर । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले तोडफोड र आगजनी गरेर ध्वस्त पारेको विराटनगरस्थित बरगाछीको ट्राफिक लाइट बिहीबारबाट सञ्चालनमा ल्याइएको छ ।
मर्मत सम्भार गरेर ट्राफिक लाइट सञ्चालनमा ल्याइएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार ट्राफिक लाइट सञ्चालनमा नआउँदा बरगाछी क्षेत्रमा सवारी दुर्घटना हुने क्रम बढेको थियो ।
मर्मत गरेर ट्राफिक लाइट सञ्चालनमा ल्याइएपछि दुर्घटना कम हुने अपेक्षा गरिएको छ । लाइट सञ्चालनसँगै बरगाछीमा सवारी आवागमन सहज भएको छ । लाइट नहुँदा विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नुका साथै दुर्घटना बढ्न थालेको थियो ।
बरगाछीको ट्राफिक लाइट सञ्चालनमा ल्याइए पनि अन्य स्थानको भने कहिलेदेखि सञ्चालनमा आउने हुन् भन्ने यकिन छैन । विराटनगर महानगरपालिकाभित्र जडान गरिएका ट्राफिक लाइट गत भदौ २४ गतेयता सञ्चालनमा थिएनन् ।
विराटनगरको अस्तव्यस्त सवारी आवागमनलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका ट्राफिक लाइटहरु भदौ २४ गते अराजक समूहको निशानामा परेका थिए । आगजनी र तोडफोडले ट्राफिक लाइट ध्वस्त हुँदा सवारीसाधन व्यवस्थापनमा लामो समयदेखि समस्या भइरहेको थियो ।
ट्राफिक लाइट नचल्दा सवारीसाधनको चाप अत्यधिक भएको विराटनगर बजारभित्र ट्राफिक व्यवस्थापनमा निक्कै असहज भइरहेको इन्स्पेक्टर न्यौपानेको भनाइ छ । जेनजी आन्दोलको नाममा ट्राफिक लाइटमाथि सरकारको रिस पोखिँदा सडकमा सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रणाली ध्वस्त भएको थियो ।
विराटनगरमा बरगाछीसँगै विराटनगर महानगरपालिका–१२ रोडशेषचोक, विराटनगर–७ को जलजला चोक, विराटनगर–६ को घाँसचोक, विराटनगर–४ कञ्चनबारी र विराटनगर–३ को तीनपैनीमा ट्राफिक लाइट सञ्चालनमा थिए । तर, अराजक समूहले आगजनी एवं तोडफोड गरेर लाइट, एमसीबी र स्वीच अनअफ बोर्ड फुटाउनुका साथै पोलका तार काटिदिएर ब्याट्री तथा इन्भर्टरसमेत चोरी गरेर लगेको पाइएको छ ।
विराटनगरका अधिकांश ट्राफिक लाइटमा क्षति पुर्याइएपछि महानगरका मुख्य सडक चोकहरूमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीले ठूलो मिहिनेत गरिरहेका थिए । लाइट हुँदा सवारीसाधन सञ्चालन र ट्राफिक व्यवस्थापनमा निक्कै सहज भइरहेको थियो ।
इन्स्पेक्टर न्यौपानेले विराटनगरको अन्य स्थानका लाइट पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । उनका अनुसार ट्राफिक लाइटमा क्षति पुर्याइएपछि चोकमा भिड, सवारी जाम र पैदल यात्रुका लागि समेत जोखिम बढेको थियो ।
विराटनगरका ट्राफिक लाइट मर्मतमा ठूलो रकम खर्च हुने अनुमान गरिएको छ । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सहरका ६ स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याएका थिए ।

























