
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज (शुक्रबार) देशका विभिन्न भू–भागमा बादल, वर्षा, हिमपात र असिनासहितको मौसम प्रणाली सक्रिय हुने देखिएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिनभर र रातिसम्म देशका ६ प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ भने ४ प्रदेशका केही स्थानमा मेघगर्जनसहित असिना समेत पर्न सक्ने पूर्वानुमान गरिएको छ । तराई क्षेत्रका केही स्थानहरूमा बिहानको समयमा तुवाँलो लागेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखिएको छ । यद्यपि, दिउँसोदेखि पश्चिम र मध्य नेपालका अधिकांश भागमा मौसम क्रमशः बदली हुने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
विशेषगरी कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात पनि हुन सक्ने देखिएको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यीमध्ये लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस क्रममा चट्याङको जोखिम पनि उच्च रहने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा अझ प्रभाव पर्ने देखिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षा हुन सक्नेछ ।
साथै, बागमती प्रदेशका केही स्थानमा पनि हिमपातसहित वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
अर्कोतर्फ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित असिना पर्न सक्ने पूर्वानुमान गरिएको छ । असिनाले कृषि बाली, फलफूल र तरकारीमा क्षति पुग्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका किसानलाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले चट्याङ, असिना, हिमपात र वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक अवरोध आउन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु र किसानलाई मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन समेत महाशाखाले सुझाव दिएको छ ।

























