
काठमाडौं । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा समर्पित हुने मुख्य उद्देश्य राखेर स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको छ ।
आफ्नो सेवा यात्राको स्मरण स्वरुप सशस्त्र प्रहरीले शुक्रबार रजत जयन्ती मनाउँदै छ । देशमा बढ्दो सुरक्षा चुनौती, सशस्त्र द्वन्द्व र अस्थिर अवस्थाबीच जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्न विक्रम संवत २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत स्थापना गरिएको थियो ।
तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सिफारिसका आधारमा तत्कालीन राजा वीरेन्द्र शाहद्वारा ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएपछि सशस्त्र प्रहरी बल गठन भएको हो । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी संगठनको संरचना तयार गरिएको थियो ।
सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको नेतृत्वमा संगठन सञ्चालनमा आएको थियो । विसं २०५९ माघ १२ गते गोली प्रहार गरेर श्रेष्ठसहित उनकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक सूर्यप्रसाद रेग्मीको हत्या गरिएको थियो ।
स्थापनाकालमा सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र द्वन्द्व, विद्रोह, आतंककारी गतिविधि नियन्त्रणलगायत १३ वटा कार्यादेश दिएको थियो । समयक्रमसँगै सीमा सुरक्षा, भन्सार, राजस्व, औद्योगिक र रेल्वे सुरक्षाको जिम्मेवारी पनि थपिएको छ ।
हाल सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग र विपद् व्यवस्थापनमा भूमिका खेल्दै आएको छ । विसं २०६३ फागुन ८ गतेदेखि सशस्त्र प्रहरीले डेडिकेटेड रूपमा अन्तरराष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पाएको थियो ।
७ रिजर्भ गण, ४५ सीमा सुरक्षा कार्यालय र २ सय १५ बीओपीमार्फत सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममार्फत जनस्तरसँग सम्बन्ध सुदृढ गर्दै आएको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनका लागि कुरिनटार र मनाङमा तालिम शिक्षालय स्थापना गरिएको छ ।

























